Tuesday, December 25, 2012

सल्बलाउने वस्तु (यमुना थापा)

हरेक सल्बलाउने वस्तु स्वार्थी छ,
हरेक सल्बलाउने वस्तु निष्ठुरी छ,
म स्वार्थी संसारको हिस्सा
म यो निष्ठुर संसारको टुक्रा
 म पनि सल्बलाउने वस्तु
म पनि स्वार्थी छु,

मलाई यो समयको मल्हम लगाउने मन थियो
तर
समयलाई थाहा नै भएन
समयले देख्नै सकेन
मेरो घाउ, मेरो घाउको पीडा

सबै सल्बलाउने वस्तु
सास भएर पनि जिउँदो देख्दिन आजभोली
हाँसेर पनि रोएको देख्छु आजभोली

म चिच्याउन चाहन्छु
म छटपटाउन चाहन्छु
तर,
म सभ्य पागल
मलाई चिच्याउने छुट छैन
म सभ्य बहुलाहा
मलाई छटपटाउने अधिकार छैन

Wednesday, December 5, 2012

“लू” मेरो आँखामा

नयनराज पाण्डेको बहुचर्चित उपन्यास लू अनन्य मित्र मार्फत हात लाग्यो। पाँच दिनमै सात पटक भन्दा बेसी पढें। लू पढिसकेपछि मेरो मनमा लागेका केही कुराहरु यो ब्लगपोष्ट मार्फत यहाँहरु सामु राख्दै छु।
सबैभन्दा पहिला मेरो मनैमा छोएका केही लाइनहरु
सपना त हेरिरहनुपर्छ। सिनिमा हेरेको पो टिकस (टिकट) लाग्छ। सपना हेरेको त टिकस लाग्दैन निपृ. १२
जिनको बोझले उसलाई अझै गलाइ सकेको थिएन। गरीबीसितको सङ्घर्षले उसलाई झै पराजित गरिसकेको थिएन। त्यसैले पनि होला उ कति आकर्षक देखिएकी थिई। गाँउका अरु तरुनीभन्दा फरक। बिल्कुल फरक।" पृ. ५५
आँखाबाट आँसु बगिदिए पनि उसको मन कति हलुङ्गो हुन्थ्यो होला! उसको मन भित्रबाट आँसुको मूल त फुट्छ, तर त्यो आँसु उसका हरियो पन्ना जस्ता आँखामा दह भएर जमिदिन्छ। र त्यहीँ कता हराँउछ कता!” पृ. ११८
हरेक रात उसको ‌ओछ्यानमा पुरुषहरू फेरिन्थे। हरेक रात उसले म तँलाई माया गर्छु भन्नेहरू भेट्थी। तर बिहान हुञ्‍जेल ती कामुक प्रेमीहरूको होस ठेगानमा आइसकेको हुन्थ्यो।
राप्ती तरेर पत्थरपुरवाको माटोमा टेक्दा उसलाई लाग्यो, उसले विगतको घिनलाग्दो स्थितिलाई पछाडि छोडी र सुन्दर वर्तमानमा पाइला टेकी।" पृ. १३२
हरेक वर्ष योसाल त सहज होला भन्ने आशा गर्छन उनीहरू। तर हरेक वर्ष उनीहरूको आशामा तुषारापात हुन्छ। उनीहरुको जीवन वर्षौं नजोतिएको खेत जस्तै जर्जर र झन्झन् दुरुह बन्दै छ। सपना देख्दादेख्दा र सुखको कल्पना गर्दागर्दा सिङ्गै गाउँ बर्षौदेखि अनिँदो भैसकेको छ। कहिले आउलान् सुखका दिनहरू? यो प्रश्न हरेक पल उनीहरूको दिमागमा सलबलाइरहन्छ। तर यही प्रश्नले उनीहरुलाई सबैभन्दा बढी दुःख दिइरहन्छ सताइरहन्छ। मानौँ यो प्रश्न हैन, जहरिलो करेत साँप हो। जो फणा उचालेर उनीहरूको छाती माथि हल्लिँदै बसेकोछ- डस्न तम्तयार भएर।" पृ. १९९
ए मेरो प्यारो कृष्ण, मेरो गाग्रीमा ढुङ्गा नहान। मेरो गाग्री फुट्छ। गाग्री फुटे त केही थिएन, मेरो चुनरी भिज्छ। मेरो चुनरी भिजे त केही थिएन, मलाई नन्दले जिस्क्याउँछिन्। नन्दले जिस्क्याए त केही थिएन, मेरा खसम रिसाउँछन्।" पृ. २४०
हो, केही लाइनहरु साँच्चै लोभलाग्दो रूपले सजिएका छन्- मनै छुने किसिमले। तर पनि उपन्यासमा सिलसिलेवर रूपले कथा नबहेको खड्कन्छ। कतिपय ठाउँमा पात्रहरु अकल्पनिय रुपमा लेखकका आवश्यकता अनुसार सिनेमामा झैँ उदाउँछन् अनि त्यसैगरी बिलाउँछन् भने कतिपय ठाउँमा देहाती भाषा सभ्य सुसंस्कृत लेख्य भाषामा परिणत भैदिन्छ।
पृ. ६२ मा उपन्यासकारले पात्र गोबरीलाई स्व-मुत्रपान गराएर रक्सि त छोडाउँछन् तर पृ. ८१ मा उही पात्र गोबरीलाई बिनाकारण रक्सी धोकाउँछन्। सम्पादकको आँखाबाट पनि यो त्रुटी छोपिएको देख्दा मलाई अचम्म लाग्छ। अनि लूमा करिम जस्ता नाबालक टुहुरा पनि बिना साहारा हुर्केर गरिखान सक्ने भएको देख्दा छक्क परिन्छ।
           लू उपन्यासमा सबैभन्दा बिझाउने पक्ष चाँही पृ. १९६ मा फेला पर्छ। सो पृष्ठमा उपन्यासकारले पात्र बजरङ्गीलाई उसको रिसको झोकमा मित्रराष्ट्रको झण्डालाई कट्टु बनाएर लागाइदिनु भएको छ। विद्वान उपन्यासकारलाई थाहै होला मानिसहरू राष्ट्रियताको मामिलामा कति सम्म सम्वेदनसिल हुन्छन् भन्ने कुरा। हाम्रै देशमा पनि उपन्यासकारले हृतिक रोन काण्ड हेर्नु भएकै होला। उपन्यासको यो पेज हुबहु अनुवादित भएर भारतीयहरूले पढेमा कस्तो कस्तो प्रतिक्रिया जनाउलान्? हो पात्र रिसाएको छ। हो रिसको झोकमा ब्राम्हणले वेद पढ्दैनन् तर त्यसो भन्दैमा विवेकशील उपन्यासकारले यस्तो लेख्नु नहुने हो


हो, हामी सिमाको मामिलामा मित्रराष्ट्रबाट साह्रै नै पेलिएका छौँ। तर पनि दुई वर्ष भित्रै कुनै पनि देशको सिमा दुई वा चार किलोमिटर एकातर्फी रुपमा केन्द्रलाइ जानकारी नभइ मिचिँदैन भन्ने कुरामा कमसेकम म चाँहि विश्वस्त छु। सिमा र झण्डाको बिषयमा चाँहि कमसेकम उपन्यासकार सम्वेदनशील हुनुपर्ने हो, मेरो विचारमा।
यस्ता झिना मसिना त्रुटीलाई नकेलाउने हो भने उपन्यास गजब राम्रो बनेको छ। एउटा मध्यम हिन्दी सिनेमा हेरेर प्राप्त गर्न सकिने मनोरञ्जन यो उपन्यासबाट प्राप्त गर्न सकिन्छ। खर्च गरिएको रूपैँया तीन सय खेर गएको महसुस हुँदैन।
अन्त्यमा म कुनै समिक्षक होइन। पढ्दै जादाँ एउटा पाठकलाई लागेका कुराहरू व्यक्त भएका मात्र हुन्। यसले लेखकको अर्को कृतिलाई अवश्य नै निखार्न मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु।

अस्तु